आज २२औं राष्ट्रिय ज्यापु दिवस मनाइँदै

ज्यापू समुदाय नेपालको नेवा: समुदायको सबैभन्दा प्रमुख र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण समूह रूपमा गनिन्छ। कृषिमा प्रभिन्नता र उपत्यकाको सांस्कृतिक र धार्मिक जीवनको निर्माणमा महत्वपूर्ण भूमिका खेलेको यस समुदायलाई काठमाडौँ उपत्यकाको आदिवासी मानिन्छ। ज्यापू जाति भित्र महर्जन, डंगोल सुवाल , प्रजापति लगायतका उपसमूहहरू समावेश छन्। यस समुदायलाई उपत्यकाका सबैभन्दा पुरानो बासिन्दा मानिन्छ। जस्तोसुकै कठिन कार्यलाई पनि व्यवस्थित रूपमा गर्न सक्ने स्वभाव भएको आदिवासी ज्यापु (ज्या काम, पु सक्षम) आफैंमा गौरवमय नेवार समाज मानिन्छन् । नेवा: मध्ये पनि ५० प्रतिशतको हाराहारीमा ज्यापु जातिको जनसङ्ख्या छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरलाई मुख्य बस्ती बनाएका आदिवासी, मूल रैथाने, आफ्नै संस्कृति, संस्कार र रीतिरिवाजमा जीवनयापन गरिरहेको समुदाय ज्यापु जाति हो । २०४६ सालको जनआन्दोलन पछि ज्यापू महागुथि नेपाः (तत्कालीन श्रीज्यापू महागुमि नेपाः) र नारायण परिवार क्लबका तत्कालीन अध्यक्ष चक्रमान डंगोलको सक्रियतामा विगत २२ वर्षदेखि ज्यापु दिवस भव्य रुपमा काठमाडौँमा मनाइदै आएको छ। हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमा (धान्यपूर्णिमा, योमरि पूर्णिमा)का दिन ज्यापु दिवस मनाइने गरिन्छ ।

काठमाडौँको ६३ टोलका ज्यापु जातिले सुरु गरेको ज्यापु दिवस अहिले राष्ट्रिय ज्यापु दिवसको रूपमा देशैभरिका ज्यापुहरूको संयुक्त दिवसको रूपमा मनाउने गरिन्छ । ज्यापूहरुबीच आपसी एकता र सद्भाव वृद्धि गर्ने तथा परम्परागत संस्कृतिको जोर्गेना गर्ने उद्देश्यले काठमाडौंका ६३ वटा ज्यापु गुठीको सहभागितामा सांस्कृतिक झाँकीसहित ज्यापु दिवस मनाइन्छ। ज्यापु दिवसको अवसरमा ज्यापू समुदायका प्रतिभाहरूलाई पुरस्कृत पनि गर्दै आइरहेको छ ।

सङ्गीत, नृत्य, शिक्षा, कलाकारिता, खेलकुद, पत्रकारिता आदि विविध उत्कृष्ट ज्यापुहरूलाई ज्यापु दिवसको अवसरमा नगद पुरस्कारसहित सम्मान गर्ने गरिन्छ । नेवा संस्कृति, सङ्गीत, बाजागाजा, भेष भूषा तथा एकता जस्ता पारम्परिक महत्त्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतका लागि हरेक वर्ष काठ्माण्डाै उपत्यकाका भिन्न भिन्नै स्थानको अगुवाइमा आयोजना हुने गरिन्छ । धिमे बाजाको तालमा जात्राको रौनक नै अभूतपूर्व हुन्छ भने हाकु पटासी, ज्यापु लः अर्थात् ज्यापु लुगाले त झन् जात्रा उल्लासपूर्ण हुन्छ ।

आज ज्यापु संस्कृति विकास कोषको आयोजना र परम्परागत नरः कोता त्वाः खलःको संयोजकत्वमा नर: देय् (हाँडीगाउँ)वाट याली तथा परम्परागत झाँकीका साथ शुरु भई बसन्तपुर डबलीमा सम्पन्न हुने बृहत साँस्कृतिक रयाली तथा सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न हुने छ । रयाली सुभारम्भ विहान १०:३० बजे हुने र समारोह दिउँसो १२:३० बजेन हुने जानकारी ज्यापु संस्कृति विकास कोषले दिएको छ।