मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

मोरङ – विराटनगरमा गए राति भएको मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राति करिब साढे १२ बजे विराटनगर–३ बरगाछी चोक नजिक प्रहरी सहायक हवल्दार भीम खड्का सवार बा.प्र ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो।

दुर्घटनामा बेलबारी घर भएका ३० वर्षीय खड्काको मृत्यु भएको हो। राति मोटरसाइकल दुर्घटना भएलगत्तै घटनास्थल नजिक रहेको प्रहरीको सिआरभी टोलीले उपचारका लागि खड्कालाई विराट नर्सिङ होम पुर्‍याएको थियो।

खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। खड्का विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालय रानीमा कार्यरत रहेका थिए।