रुपन्देही – सातौँ लुम्बिनी महोत्सव सम्पन्न भएको छ । ‘स्थानीय बजार प्रवर्द्धन’ मूल नारा सहित भैरहवामा चलेको महोत्सवमा झन्डै १२ करोड रुपैयाँको कारोबार भएको आयोजक चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले जानकारी दिनुभयो ।
महोत्सवमा एक लाख २० हजार दर्शक पुगेका थिए । महोत्सवले पर्यटन, खेलकुद र आर्थिक गतिविधि विस्तारमा सहयोग पुगेको आयोजकको भनाइ छ । भियतनामबाट ल्याइएका जलपरी र फिस टनेल महोत्सवका प्रमुख आकर्षण बने । महोत्सवमा झन्डै ३ सय स्टल राखिएको थियो ।
यस्तै हिजोदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव शुरू भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका महोत्सव शुरू भएको हो । ‘पर्यटन, संस्कृति, उद्योग तथा व्यापार’ प्रवर्द्धन गर्ने उदेश्यसहित महोत्सवमा झन्डै १५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ भने झन्डै सात लाख दर्शक आउने आयोजकको अपेक्षा छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय बढी स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० र अन्यलाई एक सय रुपैयाँ राखिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई प्रवेश निःशुल्क गरिएको छ । हिजोदेखि शुरू भएको महोत्सव आउँदो पुस २ गतेसम्म सञ्चालन हुनेछ ।
