आज २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरू अहिले निकै कम सङ्ख्यामा छन् ।

तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सँगालेकाहरू कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रबिन्दु भएको भूकम्पले काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको थियो ।

विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रूपमा एकरूपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।

भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ ।

भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरू पनि बलियो बनाउनुपर्ने र भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ यसका लागि हामीले बनाउने संरचनाहरू भूकम्प प्रतिरोधी हुनैपर्छ । भूकम्पको जोखिम न्यूनीकरणका लागि व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्न सबै सरोकार निकायदेखि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यससम्बन्धी प्रचारप्रसार आवश्यक भएकोमा उनको जोड छ ।

विगतका भूकम्पबाट पाठ सिकेर भवनको नक्सा डिजाइन गर्न आवश्यक पर्ने भार र डिजाइन गर्ने विधिसहितको भवन निर्माण संहिता अद्यावधिक गरी लागू गरिएको छ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोक विजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने? सुरक्षित हुने तरिकाहरू के हुन्ने ? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउँछन् । सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उनको जोड छ ।

पूर्वतयारीको अभाव 
पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ । पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधारणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीको भनाइ छ । ‘अहिलेसम्म कतिपय भूकम्पपीडितले राहत पाउन नसक्दा उनीहरू अस्थायी आवासमै कष्टपूर्ण रूपमा बस्नु परेको छ’, उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) जाजरकोटको भूकम्पबाट प्रभावित भइ  पुनः निर्माण गर्नुपर्ने निजी आवासको सङ्ख्या ९५ हजार सात सय ८७  छ । भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपदबाट क्षति पुगेका विभिन्न संरचनाहरूको पुनः निर्माण तथा पुनः स्थापना योजनाको योजना कार्यान्वयनका लागि रु. एक खर्ब एक अर्ब १२ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

भूकम्प प्रतिरोधी संरचनामा जोड
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा. रमेश गुरागाईँले नयाँ बन्ने संरचनाहरू भूकम्प प्रतिरोधी बनाउन आवश्यक रहेकोमा जोड दिन्छन् ।

‘हामीले भूकम्प प्रतिरोधी संरचना बनाउन सकिरहेका छैनौ, सबै स्थानीय तहमध्ये भवन निर्माण संहिता ५० वटा स्थानीय तहमा मात्रै कार्यान्वयन भएको छ, उनले भने, भूकम्प कहिले र कहाँ  जान्छ भनेर भविष्यवाणी नै गर्न त सकिँदैन । तर भूकम्पबाट बच्ने मुख्य उपाय स्वरूप पूर्वतयारी गर्न सकिन्छ । यो भनेको भूकम्प प्रतिरोधी संरचना बनाउने, बनिसकेका संरचनाहरूलाई सुधार गर्ने र अन्य पूर्वतयारीका गतिविधि नै हो ।’

भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रिय संकल्प आवश्यक भएको उनको भनाइ छ । ‘राज्य तथा अन्य सरोकारवाला निकायबाट व्यापक जनचेतना अभिवृद्धिका साथै विपद्पछिको प्रतिकार्यसम्बन्धि योजना र कार्यान्वयनका लागि तयार हुनुपर्छ, उनले भने, यसका साथै व्यक्ति आफैले पनि भूकम्पबाट सुरक्षित हुन आफ्नो तर्फबाट तयारी हुनुपर्छ । कसरी संयमता अपनाउने, आफ्नो घर भूकम्प प्रतिरोधी छ कि छैन? लगायतका विषयमा सचेत हुनुपर्छ ।’

इञ्जिनियर अमितप्रसाद तिमल्सेनाले भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यान्वयन गराउनुपर्ने आवश्यकता औँल्याए । ‘अधिकांश घर र संरचना निर्माणमा मापदण्ड पालना भएको छैन, भवन निर्माण संहिता कार्यान्वयन भए नभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ’, उनले भने ।