काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको भाउ पहिलोपटक तोलाको ३ लाख रुपैयाँको सीमा पार गरेको हो। प्रतितोला ९ हजार २०० रूपैयाँले बढेको सुनको मूल्य आज ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि गत माघ ७ गते सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आजको मूल्यले त्यसअघिको कीर्तिमानलाई तोड्दै नयाँ रेकर्ड बनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको मूल्यमा उतारचढाव, तथा विश्वव्यापी आर्थिक अनिश्चितता लगायतका कारणले सुनको मूल्य लगातार बढ्दै गएको जानकारहरुको भनाई छ । लगानीकर्ताले सुरक्षित लगानीको विकल्पका रूपमा सुनप्रति आकर्षण बढाउँदा समेत यसको माग उच्च भएको व्यवसायीहरूको भनाइ छ।
