काठमाडौँ महानगरले कीर्तिपुर बर्न अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग गर्ने

काठमाडौँ महानगरपालिकाले कीर्तिपुर बर्न अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न सहयोग गर्ने निर्णय गरेको छ। महानगरको वार्षिक कार्यक्रमअनुसार अस्पतालसँग सम्झौता सम्पन्न भएको हो। यस कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र शिक्षा–स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहबरमा सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा महानगरतर्फ स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालतर्फ अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गरेका छन्।

चालु आर्थिक वर्षको कार्यक्रमअनुसार महानगरले मेडिकल उपकरण खरिदका लागि रु एक करोड विनियोजन गरेको छ। सम्झौताको अनुसार, अस्पतालले सार्वजनिक खरिद प्रक्रियाबाट एनेस्थेसिया मेसिन, २५० केभीको जेनेरेटर र ५०० एम.ए.को डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ।

महानगरले यस सहयोगमार्फत काठमाडौंका बासिन्दा र कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। कार्यवाहक प्रमुख डंगोलले अस्पतालको सेवा अझ गुणस्तरीय र सरल बनाउन अनुदान उपलब्ध गराइएको बताइन्।

अस्पताल अध्यक्ष डा. श्रेष्ठले भने, “हाम्रो अस्पताल नाफा कमाएर बाँड्ने नभई सेवा भावबाट सञ्चालन हुन्छ। जलनका बिरामीको उपचार सहज बनाउन काठमाडौँ महानगरको निरन्तर सहयोग अपेक्षित छ।”