विराजभक्त श्रेष्ठको सघन संवाद अभियान, स्थानीयसँग प्रत्यक्ष भेटघाट

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं निर्वाचन क्षेत्र नं. ८ का उम्मेदवार विराजभक्त श्रेष्ठले पछिल्ला दिनहरूमा क्षेत्रका विभिन्न स्थानमा सघन घरदैलो, घुमघाम तथा अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिएका छन्।

काठमाडौँ–८ अन्तर्गत नागार्जुन–४ मा आयोजित घुमघाम तथा चिया भेट कार्यक्रममा उनले स्थानीयसँग अनौपचारिक संवाद गरेका थिए। कार्यक्रममा उपस्थित स्थानीयहरूको सक्रिय र सकारात्मक सहभागिताप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।

यसै क्रममा कामनपा–२० रामघाटमा परिचयात्मक भेटघाट, संगठन विस्तार तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय मुद्दादेखि समग्र विकास र सुशासनसम्मका विषयमा उपलब्धिमूलक खुला छलफल भएको जनाइएको छ। स्थानीयले उठाएका प्रश्न, सुझाव र चासोबारे श्रेष्ठले ध्यानाकर्षण जनाउँदै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कामनपा–१३ पुरानो कालीमाटीस्थित शिखर पार्टी प्यालेसमा स्थानीयकै सक्रियतामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि विकास, क्षेत्रका समस्या र सुशासनका विषयमा खुला छलफल गरिएको थियो। प्रत्यक्ष संवादमार्फत जनताको आवाज नीतिसम्म पुर्‍याउने विषय थप बलियो बनेको उल्लेख गर्दै श्रेष्ठले उत्तरदायी नेतृत्वको आधार नै जनतासँगको निरन्तर संवाद भएको बताएका छन्।

यसबीच उनले आफ्नो बाल्यकालका सम्झनासँग जोडिएको वंघ इन्द्रचोक र आकाश भैरव मन्दिर वरिपरि पुगेर स्थानीय अग्रज, परिवारजन तथा शुभेच्छुकसँग भेटघाट गरेका छन्। आफूलाई हुर्काएर यहाँसम्म पुर्‍याउने आमा–बुबा, दिदीबहिनी, दाजुभाइ तथा आफन्तहरूको माया र आशीर्वादले नै आफूलाई ऊर्जा प्रदान गर्ने उनले बताएका छन्।

राजनीतिक व्यस्तताबीच उनले श्री कृष्ण संकीर्तन कुञ्ज मा केही समय बिताउँदै अध्यात्म र भजनमा सहभागी हुने अवसर पनि पाएका थिए। जिम्मेवारी र दौडधुपका बीच यस्ता क्षणहरूले आत्मबल र नयाँ ऊर्जा प्रदान गर्ने उनको भनाइ छ।

उनले जनतासँगको प्रत्यक्ष संवादलाई समृद्ध र उत्तरदायी नेतृत्वको आधारका रूपमा व्याख्या गरे। “कहिलेकाहीँ आफ्नै मान्छेहरू देख्दा सबै थकान हराउँछ,” उनले भने, “यहाँहरूले दिनुभएको विश्वास, माया, आशीर्वाद र प्रार्थनाले फेरि उठ्ने हिम्मत र प्रेरणा दिन्छ। तपाईंहरूको विश्वास कहिल्यै टुट्न दिनेछैन, मेरो क्षमताले भ्याएसम्म निरन्तर प्रयासरत रहनेछु।”

निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं. ८ मा उम्मेदवारहरूको गतिविधि बढिरहेका बेला श्रेष्ठले घरदैलो र प्रत्यक्ष संवादलाई अभियानको मुख्य आधार बनाएका छन्।