टोखा क्षेत्रका जेष्ठ नागरिकद्वारा सबुज बानियालाई अग्रिम जितको शुभकामना

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत टोखा नगरपालिका–८, ९, १० र ११ मा रहेका जेष्ठ नागरिकहरूले उम्मेदवार सबुज बानियालाई अग्रिम जितको शुभकामना दिँदै स्वागत गरेका छन्। घरदैलो तथा भेटघाट कार्यक्रमका क्रममा जेष्ठ नागरिकहरूले उनलाई खादा तथा फूलमाला लगाई सम्मान गरेका थिए।

भेटघाटका क्रममा जेष्ठ नागरिकहरूले स्थानीय तहमा देखिएका समस्या, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र पूर्वाधार विकाससँग सम्बन्धित आफ्ना गुनासा तथा सुझावहरू राखेका थिए। उनीहरूको कुरा ध्यानपूर्वक सुनेपछि उम्मेदवार बानियाले जनताको आवाजलाई प्राथमिकताका साथ सदनसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

“जनताको समस्या सुनेर त्यसलाई समाधानका लागि सदनसम्मै पुर्‍याउनेछु,” उनले भने, “सही व्यक्ति सही ठाउँमा पुगे मात्रै जनताको अपेक्षा पूरा गर्न सकिन्छ।”

क्षेत्र नम्बर ६ मा चुनावी माहोल तातिँदै जाँदा बानियाले विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई तीव्र बनाएका छन्। स्थानीयवासीका अनुसार उनको सक्रियता र प्रतिवद्धताले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।