भगिनी सहर सम्बन्धलाई नागरिकमुखी बनाउने डंगोलको प्रस्ताव

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर–नगरबीचको सम्बन्धलाई औपचारिकता भन्दा अघि बढाएर “नागरिक कूटनीति” को व्यवहारिक माध्यम बनाइनुपर्ने बताउनुभएको छ। सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा तथा काठमाडौँ–फ्रेडरिक्सबर्ग भगिनी समिति पदाधिकारीहरूसँगको भेटमा उहाँले दिगो र नागरिकमुखी कार्यक्रममार्फत सम्बन्धलाई अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो।

भेटका क्रममा फ्रेडरिक्सबर्गका मेयर केरी डेभिनको तर्फबाट अमेरिकाको २५०औँ स्वतन्त्रता दिवस समारोहमा सहभागिताको निम्तो हस्तान्तरण गरिएको थियो। साथै, सिस्टर सिटी इन्टरनेशनलको ७०औँ वार्षिकोत्सव (जुलाई २०२६, वासिङ्टन डीसी) मा सहभागिताका लागि पनि निमन्त्रणाबारे जानकारी दिइयो।

पत्रमा फोहोर व्यवस्थापन, वातावरणीय सुधार, युवा नेतृत्व विकास, सांस्कृतिक पर्यटन तथा विश्वविद्यालयस्तरको विद्यार्थी आदान–प्रदान जस्ता सहकार्यका क्षेत्रहरू प्रस्ताव गरिएको छ । जसले सम्बन्धलाई कार्यक्रममुखी र नतिजामुखी बनाउने संकेत गर्दछ।

कापाराले संयुक्त राज्य अमेरिकाका विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायलाई नगर–नगरबीचको सहकार्यमा जोडेर कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो। यसले प्रवासी नेपालीलाई ‘सम्बन्धका दूत’ का रूपमा प्रयोग गर्ने नयाँ सम्भावना देखाउँछ।

काठमाडौँ–फ्रेडरिक्सबर्ग भगिनी सम्बन्ध १० अक्टोबर २०१७ मा हस्ताक्षर भएको थियो, जसका लागि २०१५ देखि पत्राचार सुरु भएको थियो। अब चुनौती भनेको औपचारिक सम्झौताबाट ठोस परियोजनातर्फ रूपान्तरण गर्नु हो।

यो भेट केवल निमन्त्रणाको आदान–प्रदान मात्र नभई, स्थानीय सरकारहरूबीचको सम्बन्धलाई नागरिक–केन्द्रित कूटनीतिमा रूपान्तरण गर्ने संकेतका रूपमा हेरिएको छ। यदि प्रस्तावित सहकार्य कार्यान्वयनमा गए, काठमाडौँका नागरिकले प्रत्यक्ष लाभ पाउने कार्यक्रममार्फत ‘सिस्टर सिटी’ सम्बन्ध नयाँ उचाइमा पुग्न सक्छ।