नेपालभाषा पत्रकारिताको एक युग समाप्त : सुरेशकिरण मानन्धरको निधन

काठमाडौं — वरिष्ठ पत्रकार, साहित्यकार तथा नेपाल भाषा आन्दोलनका अग्रणी व्यक्तित्व सुरेशकिरण मानन्धरको हृदयघातका कारण निधन भएको छ। उहाँ ५९ वर्षको हुनुहुन्थ्यो।

वरिष्ठ पत्रकार राजेन्द्र स्थापितका अनुसार सोमबार साँझ काठमाडौंको खुसिबुस्थित एक बैंक्वेटमा भाञ्जीको वैवाहिक समारोहमा सहभागी भइरहेका बेला मानन्धर अचानक ढल्नुभएको थियो। त्यसपछि तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोलोजी केन्द्र लगिए पनि चिकित्सकले उहाँलाई मृत घोषित गरेका थिए।

भाञ्जीको विवाहका कारण परिवारजनले शोकको खबर मंगलबार साँझ मात्र सार्वजनिक गरेका हुन्। श्रीमती सजनी मानन्धरका अनुसार भोजका क्रममा आफन्तहरूसँग हाँस्दै–बोल्दै गर्दा उहाँलाई अचानक हृदयघात भएको थियो।

वि.सं. २०२३ कात्तिक २३ गते जन्मिनुभएका मानन्धरले जीवनको अधिकांश समय पत्रकारिता, साहित्य र भाषा आन्दोलनमा समर्पित गर्नुभएको थियो। नेपाल भाषा पत्रकारितामा झन्डै चार दशक सक्रिय रहनुभएका उहाँ हाल भाषा आयोगका सदस्यका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो।

मानन्धर नेपाल भाषा मंकाः खलको स्थापनाकालदेखि नै सक्रिय रहनुभएको थियो। उहाँ नेपाल भाषामा प्रकाशित दैनिक अखबार ‘सन्ध्या टाइम्स’ र ‘नेपालभाषा टाइम्स’का संस्थापक सम्पादक हुनुहुन्थ्यो। व्यंग्य लेखनमा समेत सक्रिय उहाँ ‘जनआस्था’ साप्ताहिकका स्तम्भकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो।

पत्रकारिता यात्रा उहाँले २०४५ सालमा मल्ल के सुन्दर सम्पादक रहेको ‘इनाप’ साप्ताहिक र ‘विश्वभूमि’ दैनिकबाट सुरु गर्नुभएको थियो। २०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला काठमाडौं कडा सुरक्षा घेरामा रहेका अवस्थामा वीर अस्पतालमा उपचाररत आन्दोलनका नेता गणेशमान सिंहसँग चिकित्सकको भेषमा गरिएको उहाँको अन्तर्वार्ताले व्यापक चर्चा पाएको थियो।

त्यसपछि उहाँले नेपाल भाषा पत्रकारितालाई निरन्तरता दिने अभियानकै रूपमा नयाँ विश्वभूमि (२०४९–२०५१), सन्ध्या टाइम्स (२०५२–२०७२) र नेपालभाषा टाइम्स दैनिक (२०७३–२०८१) सम्पादन गर्नुभयो। पछिल्लो समय उहाँ रेडियो नेपाल, नेपाल टेलिभिजन र राससमा नेपालभाषा समाचारका विज्ञका रूपमा सहजीकरण गर्दै आउनुभएको थियो।

नेपालभाषा एकेडेमीका चान्सलर तथा मानवअधिकारकर्मी मल्ल के सुन्दरका अनुसार मानन्धर शान्त स्वभावका, कामप्रति समर्पित र भाषा–संस्कृतिप्रति गहिरो प्रतिबद्धता राख्ने व्यक्तित्व हुनुहुन्थ्यो। “आज उहाँ भौतिक रूपमा हामीबीच रहनु भएन, तर उहाँले लेखेका शब्द, प्रशिक्षित गरेका पत्रकार र भाषा–संस्कृतिको संरक्षणका लागि चलाएको अभियानले उहाँलाई सधैं सम्झाइरहनेछ,” उनले भने।

मानन्धर साहित्य क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो। उहाँको आधुनिक कविता संग्रह ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन’ (आज मैले घण्टाघरलाई समय सोधिरहेको छु) प्रकाशित छ। साथै संरक्षणविद् डा. तीर्थमान मास्केको जीवनी ‘टाइगर वार्डेन’ र पद्मरत्न तुलाधरको जीवनीसमेत उहाँले लेख्नुभएको छ। उहाँले ‘मह अदालत’ रेडियो नाटक श्रृंखला तथा ‘मह चौतारी’ टेलिफिल्म श्रृंखला पनि लेख्नुभएको थियो।

पत्रकारिता र साहित्य क्षेत्रमा योगदानका लागि उहाँ पारिजात सिर्जनशील पुरस्कार (२०५६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), जरिमैंया पुरस्कार (२०६८), गोविन्द वियोगी पत्रकारिता पुरस्कार (२०७०) लगायत विभिन्न सम्मानबाट सम्मानित हुनुभएको थियो।

जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले मानन्धरको निधनले देशले बहुआयामिक प्रतिभा गुमाएको बताउनुभयो। “देशको परिस्थितिलाई बुझेर मनमा जतिसुकै पीडा भए पनि व्यंग्य लेख्न उहाँ खप्पिस हुनुहुन्थ्यो। उहाँजस्तो प्रतिभा आउन धेरै समय लाग्नेछ,” श्रेष्ठले भन्नुभयो।

मानन्धरको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म विजेश्वरीस्थित नेपालभाषा मंकाः खलको कार्यालयमा राखिने जनाइएको छ। त्यसपछि नगर परिक्रमा गराई अन्त्येष्टि गरिने बताइएको छ।