नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशन आज: नयाँ राजनीतिक यात्राको प्रारम्भ

गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधिसभाको ऐतिहासिक पहिलो अधिवेशन आज दिउँसो २ बजेदेखि सिंहदरबारस्थित नवनिर्मित भवनको बहुद्देश्यीय कक्षमा सुरु हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आह्वान गरेको यस बैठकको प्रारम्भ ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नेछन्।

निर्वाचन आयोगले चैत ५ गते अन्तिम प्रतिवेदन बुझाएपछि र चैत १२ गते सांसदहरूले शपथ लिएसँगै संसदीय प्रक्रियाले औपचारिक गति लिन लागेको हो।

बैठकमा राष्ट्रियसभाको अधिवेशन पनि समानान्तर रूपमा सचिवालयको आफ्नै हलमा सञ्चालन हुने तयारी छ।

आजको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि एमालेका रामबहादुर थापा ‘बादल’, नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाका ज्ञानेन्द्र शाहीले सम्बोधन गर्नेछन्।

यसका साथै गृहमन्त्री सुधन गुरुङले तीन महत्त्वपूर्ण अध्यादेशहरू पेस गर्ने कार्यक्रम तय भएको छ।

बैठकले सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गर्नुका साथै केही दिवङ्गत पूर्वसांसदहरूको सम्मानमा शोक प्रस्ताव समेत पारित गर्नेछ।