काठमाडौं महानगरपालिकाले बढ्दो इन्धन अभाव र यसको दीर्घकालीन असरलाई न्यूनीकरण गर्न आफ्ना कर्मचारीहरूका लागि ‘कार पुलिङ’ प्रणाली कार्यान्वयनमा ल्याएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार विश्वव्यापी रूपमा देखिएको इन्धन समस्यालाई मध्यनजर गर्दै अत्यावश्यक सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले यो कदम चालिएको हो।
यसअघि नै कार्यपालिकाको ४८ औं बैठकले इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको पृष्ठभूमिमा अहिले यसलाई थप प्रभावकारी बनाउन कर्मचारीहरूलाई निश्चित क्षेत्रका आधारमा समूहमा विभाजन गरिएको छ।
यस नयाँ व्यवस्थाअन्तर्गत एउटै भेगबाट कार्यालय आउने-जाने कर्मचारीहरूले पालैपालो आफ्ना सवारी साधन प्रयोग गरी सहकर्मीहरूलाई पनि साथमै ल्याउने-लाने गर्नुपर्नेछ। महानगरले यस प्रणालीबाट कार्यालय प्रयोजनमा गुड्ने सवारी साधनको संख्या उल्लेख्य रूपमा घट्ने र इन्धन खपतमा ठूलो बचत हुने विश्वास लिएको छ।
आर्थिक व्ययभार कम गर्नुका साथै यो पहलले सहरी वातावरण संरक्षणमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। आगामी दिनमा आइपर्न सक्ने सम्भावित ऊर्जा संकटलाई ध्यान दिँदै महानगरपालिकाले यस्ता मितव्ययी उपायहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउने योजना बनाएको छ।
