सुकुम्बासी बस्तीको नाममा कब्जा गरिएको सार्वजनिक जग्गा अब महानगरको नियन्त्रणमा: कार्यवाहक मेयर डंगोलको कडा कदम

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले लामो समयदेखि अतिक्रमणको चपेटामा परेको सार्वजनिक जग्गा संरक्षणका लागि आक्रामक कदम चालेकी छिन्।

थापाथलीस्थित बागमती किनारको स्थलगत निरीक्षण गर्दै डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई खाली गराइएका र अब खाली गरिने सबै सार्वजनिक जग्गाको सुरक्षाका लागि तत्काल कार्ययोजना अघि बढाउन निर्देशन दिएकी छिन्।

वर्षौंदेखि सुकुम्बासीको नाममा माफिया र पहुँचवालाले कब्जा गरेको सरकारी जग्गालाई अब महानगरले तारबार लगाएरै छोड्ने तयारी गरेको छ।

यसका लागि महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायतका निकायहरूसँग समन्वय अघि बढाइसकेको छ।

सार्वजनिक निर्माण विभागलाई अविलम्ब तारबार लगाउन निर्देशन दिँदै डंगोलले सरकारी सम्पत्तिमाथिको अवैध कब्जा अब सह्य नहुने सन्देश दिएकी छिन्।

यसै क्रममा उनले आइतबार नागार्जुनस्थित इचङ्गुमा सुकुम्बासीका लागि बनाइएको कोलोनीको अवस्था बुझ्न स्थलगत निरीक्षणसमेत गरेकी थिइन्।

राज्यले व्यवस्था गरेको सुविधा लिन नखोज्ने र सार्वजनिक जग्गा छोड्न नमान्ने प्रवृत्तिको अन्त्य गर्न महानगर कठोर रूपमा प्रस्तुत भएको छ।