प्युठानको गौमुखी गाउँपालिका–६, लिबाङमा चट्याङले एकै परिवारका बाबु–छोराको ज्यान लिएको छ।
आइतबार दिउँसो खसेको चट्याङमा परेर गम्भीर घाइते भएका ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका २८ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा आइतबार राति दुवैको ज्यान गएको हो। चट्याङका कारण सोही क्षेत्रकी अन्य एक महिला पनि घाइते भएकी छिन्।
उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। क्षणभरमै बाबु–छोरा गुमाउनुपर्दा लिबाङ गाउँ शोकमा डुबेको छ।
