निर्माणाधीन जनसेवा प्रहरी वृत्त भवन निर्माण कार्यलाई सहयोग पुर्याउने उद्देश्यले झोछें सामुदायिक समाजले रु १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गरेको छ।
समाजका प्रतिनिधिहरूले निर्माणाधीन भवन स्थलमै पुगेर उक्त रकम बराबरको चेक जनसेवा प्रहरी वृत्तका प्रमुख डीएसपी चन्द्रबहादुर थापा तथा पुनर्निर्माण समितिका पदाधिकारीहरूलाई हस्तान्तरण समाजका अध्यक्ष बिरेन्द्र बहादुर मल्लले गरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा झोछें सामुदायिक समाजका पदाधिकारीहरूले जनसेवा प्रहरी वृत्त सम्पूर्ण समुदायको साझा सम्पत्ति भएकाले यसको पुनर्निर्माण कार्यलाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनीहरूले भवन निर्माणलाई तीव्रता दिन समुदाय, संघसंस्था, व्यवसायी तथा सरोकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड दिए।
पुनर्निर्माण समितिका अनुसार जेन्जी आन्दोलनका क्रममा भएको आगजनीबाट भवन पूर्णरूपमा क्षतिग्रस्त भएपछि स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सरोकारवालाहरूको पहलमा पुनर्निर्माण समिति गठन गरिएको हो। हाल काठमाडौं महानगरपालिकाका वडा नं. ११, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ ले जनही रु १०/१० लाख बराबरको भौतिक निर्माण सामग्री सहयोग गरेका छन्। उक्त सहयोगमार्फत भवन निर्माण कार्य प्रारम्भ भइसकेको पुनर्निर्माण समितिले जनाएको छ।
समितिका अनुसार भवन निर्माण सम्पन्न गर्न करिब रु ४ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। निर्माण सम्पन्न भएपछि यो भवन नेपाल प्रहरीका भवनहरूमध्ये पहिलो सम्पदा–मैत्री स्वरूपमा निर्माण भएको संरचनाका रूपमा स्थापित हुने विश्वास गरिएको छ।
समाजले उपलब्ध गराएको सहयोग रकम भवनको पूर्वाधार विकास तथा आवश्यक निर्माण कार्यमा उपयोग गरिने जनाइएको छ। साथै, पुनर्निर्माण समितिले रु १ लाख वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूको नाम शिलापत्रमा उल्लेख गरिने जानकारी दिएको छ।
चेक ग्रहण पछि जनसेवा प्रहरी वृत्तका प्रमुख डीएसपी चन्द्रबहादुर थापाले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए।
“समुदाय र प्रहरीबीचको सम्बन्ध जति बलियो हुन्छ, समाज त्यति नै सुरक्षित बन्छ। यस्ता सहयोग र सहभागितामूलक कार्यक्रमले समुदाय र प्रहरीबीचको विश्वास अझ मजबुत बनाउँछ,” उनले भने।
पुनर्निर्माण समितिले ऐतिहासिक, सांस्कृतिक तथा व्यावसायिक महत्व बोकेको भित्री शहर क्षेत्रको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भवन निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न सबैलाई सहयोगका लागि आह्वान गरेको छ।
समितिका अनुसार भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीले अझ प्रभावकारी, व्यवस्थित र सहज सुरक्षा सेवा प्राप्त गर्नेछन् भने प्राचीन सांस्कृतिक जात्रा–पर्व, पुरातात्त्विक सम्पदा, विश्व सम्पदा क्षेत्र तथा ऐतिहासिक व्यापारिक केन्द्रहरूको सुरक्षा व्यवस्थापनमा समेत महत्वपूर्ण टेवा पुग्नेछ।
