नृत्य निर्देशक स्व सबिता महर्जन मुनिकारको स्मृतिमा सम्मान तथा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं । दिवंगत नृत्य निर्देशक सबिता महर्जन मुनिकारको स्मृतिमा आगामी शनिबार विशेष सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम नृत्य तथा संस्कृति संरक्षणमा उहाँले पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप आयोजना गर्न लागिएको हो।

आयोजक नृत्य सांस्कृतिक कला केन्द्रका अनुसार कार्यक्रम असार ६ गते शनिबार बिहान ११:३० बजे काठमाडौंस्थित नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा हुनेछ।

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुति रहनेछन् भने सबिता महर्जन मुनिकारको कला र संस्कृतिप्रतिको योगदानको स्मरण गरिने जनाइएको छ। साथै, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय व्यक्तित्वहरूलाई समेत सम्मान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यसैगरी, सबिता महर्जनद्वारा नृत्य प्रशिक्षण प्राप्त कलाकारहरूले विशेष नृत्य प्रस्तुति गर्नेछन्। उहाँलाई नृत्य तथा कलाको शिक्षा प्रदान गर्ने गुरुहरूलाई पनि कार्यक्रममा सम्मान गरिने आयोजकले न्युज नेपा: लाई जानकारी दिएको छ।

नृत्य र संस्कृतिप्रेमी, कलाकार तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्न आयोजकले आग्रह गरेको छ।