फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा पोर्चुगल र कंगो डीआरले १–१ को बराबरी खेलेका छन्। खेल बराबरीमा सकिए पनि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले नयाँ ऐतिहासिक कीर्तिमान कायम गर्दै सबैको ध्यान आकर्षित गरेका छन्।
४१ वर्ष १३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो विश्वकप इतिहासमा ‘स्टार्टिङ ११’ मा पर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बने। साथै, यो उनको २३औँ विश्वकप खेल थियो, जससँगै उनले इटालीका महान् डिफेन्डर पाओलो माल्दिनीको कीर्तिमान बराबरी गरेका छन्।
खेलको छैटौँ मिनेटमै पोर्चुगलले अग्रता लिएको थियो। पेड्रो नेटोको आकर्षक क्रसमा जोआओ नेभेसले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाएका थिए। प्रारम्भिक समयमा पोर्चुगलले खेलमा नियन्त्रण जमाए पनि कंगो डीआरले संयमित प्रदर्शन गर्दै दबाब झेल्यो।
पहिलो हाफको इन्जुरी समयमा कंगोका योआने विसाले आर्थर मासुयाकुको क्रसलाई उत्कृष्ट हेडमार्फत गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। यो कंगो डीआरको विश्वकप इतिहासकै पहिलो गोल तथा पहिलो अंक बनेको छ।
दोस्रो हाफमा पोर्चुगलले पुनः अग्रता लिने प्रयास गर्यो। जोआओ कान्सेलोको शानदार ‘ओभरहेड किक’ गोलमा परिणत भए पनि अफसाइडका कारण गोल मान्यता पाउन सकेन। अन्तिम समयमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि निर्णायक गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए।
५२ वर्षपछि विश्वकपमा फर्किएको कंगो डीआरका लागि यो नतिजा ऐतिहासिक रह्यो। तर खेलको मुख्य आकर्षण बने रोनाल्डोले अर्को कीर्तिमान थप्दै विश्व फुटबलमा आफ्नो प्रभाव अझै कायम रहेको सन्देश दिएका छन्।
