अस्ट्रेलियामा नेपाल भाषाको फिल्म ‘इन्दिरा: धिमे मैंचा’ प्रदर्शन हुँदै

काठमाडौँ। नेपालकी पहिलो महिला धिमे बाजा वादक इन्दिरा लाछिमास्युको जीवन, संघर्ष र योगदानमा आधारित नेपाल भाषाको लघु चलचित्र ‘इन्दिरा: धिमे मैंचा’ अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ।

नेपालको मौलिक कला, संस्कृति र महिला सशक्तीकरणको सन्देशलाई प्रवासमा पुर्‍याउने उद्देश्यले विशेष प्रदर्शन आयोजना गर्न लागिएको हो। अस्ट्रेलियामा रहेका नेवा: समुदायसँगै दोस्रो पुस्ताका दर्शकलाई लक्षित गर्दै चलचित्र अंग्रेजी सबटाइटलसहित प्रदर्शन गरिने जनाइएको छ।

चलचित्रले परम्परागत रूपमा पुरुषप्रधान मानिँदै आएको धिमे बाजा वादनको क्षेत्रमा इन्दिरा लाछिमास्युले गरेको संघर्ष र योगदानलाई केन्द्रमा राखेको छ। सामाजिक चुनौतीका बाबजुद उनले धिमे वादनमा स्थापित गरेको पहिचान र सफलताको कथालाई चलचित्रमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

चलचित्रको पहिलो प्रदर्शन अगस्ट १५ मा सिड्नीमा हुँदैछ। गुठी अस्ट्रेलियाको आयोजनामा उक्त शो आयोजना गर्न लागिएको हो। त्यसैगरी अगस्ट २९ शनिबार पर्थमा चलचित्र प्रदर्शन हुनेछ। नेपाः पासा पुचः अस्ट्रेलियाको आयोजनामा पर्थको स्टेट लाइब्रेरी थिएटर, पर्थ सीबीडीमा साँझ ६ बजे प्रदर्शन हुने तय गरिएको छ।

मेलबर्नमा हुने प्रदर्शनको मिति, स्थान तथा अन्य विवरण आयोजकहरूले स्थानीय क्युआर कोड तथा अनलाइन माध्यममार्फत सार्वजनिक गर्ने जनाइएको छ।