खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाण्डाैका ५ वटा ठाउँबाट बिक्री/वितरण शुरू गरेको छ । निगमले जिल्ला प्रशासन कार्यालय काठमाण्डाैसँगको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो ।
टेकुमा रहेको नेपाल आयल निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, कीर्तिपुर र बसुन्धरामा रहेका राधास्वामी परिसर तथा बबरमहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू भएको हो । बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ ।
निगमले तोकेका ठाउँमा ग्यास लिन बिहानैदेखि सर्वसाधरणको भीड लागेको छ । निगमले विभिन्न ठाउँबाट ग्यास बिक्री गरे पनि सर्वसाधारणले भने सहजरूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् ।
बबरमहलमा ग्यास लिन आएका सेवाग्राहीले लामो समयसम्म लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरे । निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन १ हजारभन्दा धेरै उपभोक्ता पुगेका छन् ।
निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ । ग्यास लिन आउने उपभोक्ताले अनिवार्यरूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ ।
यसैबीच निगमले खाना पकाउने ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य लिएर आउनू भन्दै सूचना निकालेपछि त्यसको व्यापक विरोध भएको छ । निगमले निकालेको सूचनामा ग्यास लिनका लागि आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित उपस्थित हुन भनिएको छ ।
घर नजिकैको डिपोमा सहजै पाउनुपर्ने अत्यावश्यक वस्तु निगमले तोकेकै ठाउँमा खाली सिलिन्डर बोकेर पुग्नुपर्ने र त्यसमा पनि नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि त्यसको विरोध भएको हो । कतिपयसँग नागरिकता वा राष्ट्रिय परिचयपत्र नभएमा खाना पकाउनै नपाउने हो भन्दै उपभोक्ताले प्रश्न गरेका छन् ।
