रोकिराखेको बस आफैँ गुड्दा दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली (नुवाकोट) – नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ।

नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका–८ का ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ का ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस दुर्घटनालगत्तै उद्धारको लागि घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) बिपिन रेग्मीका अनुसार घाइतेलाई उद्धार गरेर उपचारको लागि काठमाडौँ पठाएकोमा दुई जनाको अस्पताल पुर्याोएलगत्तै निधन भएको जानकारी चिकित्सकले दिएको हो। दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ का २५ वर्षीया सुजता पोखरेल, काभ्रे बनेपा नगरपालिका–१० का ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मेलुङ गाउँपालिका–६ घर का ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएकाले थप उपचारको लागी काठमाडौँ पठाइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) बिनोद ढकालका अनुसार काठमाडौंँबाट दुप्चेश्वर धाम दर्शनको लागी तीर्थयात्री लिएर आएको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस थानाभञ्याङ्गस्थित सडक छेउमा रोकिएको समयमा आफैँ गुडेर दुर्घटनामा परेको हो।

बस रोकेर चालक र यात्रुहरू खाजा खान गएको समयमा आफैँ गुडेको बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको इभी भ्यानलाई समेत ठक्कर दिई दुवै गाडी सडकबाट करिब ५० मिटर तल पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात् बसका चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको जनाएको छ।