काठमाडौँ– रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरू, सोही नगरपालिका-१ बस्ने उदयपुर घर भएका ७० वर्षीय संजिब थापा, चाँगुनारायण नगरपालिका-५ बस्ने ५८ वर्षीय मदन कृष्ण फोजु, काठमाडौं बस्ने नुवाकोट घर भएका ५७ वर्षीय उमेश प्रसाद ढकाल र काठमाडौं बालाजु बस्ने ६७ वर्षीय ईन्द्र बहादुर केसी रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
भक्तपुर नगरपालिका ४ मा नेपाल रेडक्रस सोसाइटी संस्थाकाे गोदाम घर सञ्चालनको लागि खरिद गरिएको जग्गामा ठगी गरेको आरोप उनीहरूलाई लागेको छ।
उनीहरूमाथि जग्गा बोलपत्रमा उल्लेख भएको सर्त विपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत गरेको, जग्गा खरिदमा ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रूपैयाँ भुक्तानी गरेकोमा सो रकम मध्ये १ करोड ९३ लाख ७ सय ५० रूपैयाँ मध्यस्थकर्ता (बिचौलिया) ले लिएको एवम् क्षेत्रफल ५-१३-३-० जग्गा खरिद गरेकोमा नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल एकिन गराउँदा फिल्डमा क्षेत्रफल ५-६-२-१ मात्र रहेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएकाे छ।
