विश्व व्यवस्थाप्रति बालेनको कटाक्ष : हतियार ७२ घण्टामै पुग्छन्, तर किसानले मल र बीउ पाउँदैनन्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा भने कमजोर रहेको जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै उक्त विषय उठान गरेका हुन् ।

अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेको बेला बजार मूल्यमा मल वा इन्धनसमेत पाउन नसक्ने अवस्था रहेको उनको भनाइ थियो । प्रम शाहलेआफूले तिर्न सक्ने देशले आवश्यक वस्तु किन्न पाउनुपर्ने र ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने विश्वसँग किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित राख्ने कुनै बहाना हुन नसक्ने जनाए ।

यो प्रसंगलाई उनले जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग जोड्दै कमजोर तथा विकासशील देशका नागरिकले आफूले सिर्जना नगरेका सङ्कटको भार बोक्नुपरेको भनाइ राखे । उनले जलवायु परिवर्तनले नेपालजस्ता देशलाई असर पारिरहेको र अर्कोतर्फ विश्वव्यापी आपूर्ति शृङ्खलाको कमजोरीले गरिब जनतालाई थप प्रभावित बनाइरहेको उल्लेख गरे।