उड्दै गरेको फ्लाई दुबईकाे विमानभित्र दुई पाइलटबीच कुटाकुट

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट झन्डै १८० जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको जहाजमा दुई पाइलटबीच कुटाकुट भएको छ ।

३४ हजार फिटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमान २ मिनेटमै तीव्र गतिमा खसेर १६ हजार ६०० फिटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ ।

विमानबाट पहिले सामान्य आपत्कालीन सङ्केत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप वा हाइज्याकिङ जनाउने कोड पठाइएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए । सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभलसमेत बढाएको थियो ।

साउदी अरबको आकाशमा दिशा बदलेर झन्डै ७ मिनेटसम्म आपत्कालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको छ ।

घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकबीले ककपिटभित्रै पाइलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभएको छ ।

एअरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।