काठमाडौँ। नेपालभाषाको खोज तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी प्रा. प्रेमशान्ति तुलाधरद्वारा लिखित पुस्तक ‘नेपालभाषा साहित्यया इतिहास’ को दोस्रो संस्करण विमोचन हुने भएको छ।
नेपालभाषा साहित्यको ऐतिहासिक पृष्ठभूमि, विकासक्रम तथा साहित्यिक योगदानलाई समेटिएको उक्त अनुसन्धानात्मक कृतिलाई गहन अध्ययन तथा अनुसन्धानपछि परिमार्जन गरी दोस्रो संस्करणका रूपमा प्रकाशन गर्न लागिएको हो।
लामो समयपछि परिमार्जित रूपमा पाठकमाझ आउन लागेको पुस्तकले नेपालभाषा साहित्यको इतिहास, विकास र विभिन्न कालखण्डमा भएका साहित्यिक योगदानलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने जनाइएको छ।
पुस्तक विमोचन कार्यक्रम नेपालभाषा एकेडेमीको आयोजनामा हुने भएको छ। एकेडेमीका पूर्वकुलपति यज्ञ रत्न धाख्वा: को प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार कार्यक्रम २०८३ असोज १८ गते आइतबार काठमाडौँको खुसिबुँस्थित नेपाः ब्याङ्क्वेटमा हुनेछ। कार्यक्रम दिउँसो १ः३० बजे सुरु हुने जनाइएको छ।
