गतः ने.सं. ११४६ कौलागाः औंशी, सोमबार (कार्तिक २३ गते)का दिन लोककवि राजभाइ जकःमिको सम्पादनमा ‘हलिमय् झी दुर्गालाल’ कविता पुस्तकको लोकार्पण भएको छ । सोही कार्यक्रममा ‘दुर्गालाल बाल साहित्य कोष’ स्थापनाको समेत घोषणा भएको छ ।
जनकवि दुर्गालाल श्रेष्ठको नेपालबाहिर विभिन्न देशबाट पत्रपत्रिकामा प्रकाशित ४५ वटा कविताहरु संग्रहित पुस्तक हो– ‘हलिमय झी दुर्गालाल ।’ यस पुस्तकमा भूमिकाको रुपमा सम्पादकले लेख्नुभएको ‘नेपाल देश बाहिरका नेपालभाषा पत्रपत्रिकाका इतिहास’ समेत समावेश हुनुका साथै नेपालभाषा एकेडेमिका चान्सलर मल्ल के. सुन्दरले लेख्नु भएको र डा. सुमन कमल तुलाधरले अनुवाद गर्नुभएको जनकविको जीवनी पनि अंग्रेजी भाषामा समावेश भएको छ ।
हलिं नेवाः साहित्य दबूका अध्यक्ष लोककवि राजभाइ जकःमिको सभापतित्वमा भएको यस कार्यक्रममा मुख्य अतिथि वर्ल्ड नेवाः अर्गनाइजेशनका का. वा. अध्यक्ष समीर महर्जनले ‘हलिमय् झी दुर्गालाल’ पुस्तक लोकार्पणका साथै ‘दुर्गालाल बाल साहित्य कोष’ स्थापनाको घोषणा समेत गर्नुभएको छ ।
यस कार्यक्रममा विशेष अतिथि नेवाः देय् दबूका संरक्षक नरेश कुमार ताम्राकारले जनकवि दुर्गालाल श्रेष्ठ नेपालको साहित्य क्षेत्रका ध्रुबतारा हो भन्नुभयो साथै वहाँले जनकविलाई अझ अमर बनाउने हेतुले घोषणा भएको ‘दुर्गालाल बाल साहित्य कोष’ निकै प्रशंसनीय भएको कुरा ब्यक्त गर्नुभयो ।
यस कार्यक्रममा जनकवि दुर्गालालका परिवारका तर्फबाट सुपुत्र श्री सुमन श्रेष्ठले अति भाबुक हुनुभई आफ्ना पिता जनकवि दुर्गालाल श्रेष्ठका निमित्त देवता भन्नु नै बालबालिका हुन्, खेती किसानी गर्ने किसानहरु हुन्, साथीभाइहरु हुन् भन्नुभयो । वहाँले आफ्ना पिताले आफ्ना घरपरिवारलाई भन्दा आफ्ना साथीभाइहरुलाई बढी माया गर्नुहुने कुरा पनि ब्यक्त गर्नुभयो ।
यस कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य नियुक्त हुनु भएकी कवि प्रतिसरा साय्मिलाई सम्मानित पनि गरिएको थियो । सम्मान पत्र ग्रहणपछि प्राज्ञ प्रतिसरा साय्मिले स्रष्टा भनेको कहिले पनि मर्दैन भन्नुभयो, साथै वहाँले जनकविको विभिन्न देशबाट प्रकाशित कविताहरु एकत्रित गरी पुस्तक प्रकाशन भएको र दुर्गालाल बाल साहित्य कोष स्थापना भएको महान कार्य हो भन्नुभयो ।
सभापतिको आसनबाट लोककवि जकःमिले वर्ल्ड नेवाः अर्गनाइजेशनले आफूलाई दुर्गालाल बाल साहित्य कोषको अध्यक्ष चयन गरिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो र मुख्य अतिथि समीर महर्जनले यस ‘हलिमय झी दुर्गालाल’ पुस्तक हाम्रा जनकवि नेपालका मात्र जनकवि होइन, विश्वमै प्रतिष्ठित कवि हो भन्ने प्रमाण हो भन्नुभयो, साथै वहाँले दुर्गालाल बाल साहित्य कोषलाई सबल बनाउन आआफ्ना क्षेत्रबाट साथ र सहयोग दिनुहुन सबैलाई अनुरोध पनि गर्नुभयो ।
यस कार्यक्रममा लोककवि जकःमिले जनकवि दुर्गालाल बित्नुभएको दिनदेखि ४५ दिनसम्म बाचन गरी सामाजिक सञ्जाल फेसबुकमा राख्नभएको जनकविका ४५ वटा कविताका यूट्यूब भिडियो ‘दुर्गालालया जः– जकःमिया सः’को समेत कार्यक्रममा सार्वजनीकरण गरिएको थियो । यसै कार्यक्रममा भाषाविद् पौभाः साय्मि र विद्या दलीलाई वर्ल्ड नेवाः अर्गनाइजेशनको तर्फबाट नेपालभाषा भाषाविज्ञान दूत (Nepalbhasa Linguistics Ambassador)को नियुक्ति प्रमाण पत्र मुख्य अतिथिबाट प्रदान गरिएको छ ।
यसै गरी पुस्तक डिजाइन गर्नुहुने दिब्या बज्राचार्य, क्यूआर बनाउन सहयोग गर्नुहुने नेवाः सूचना केन्द्रका राजेन्द्र रन्जित र आयुष महर्जनलाई समेत प्रमाणपत्र प्रदान गरिएका थिए । यस कार्यक्रममा दुर्गालाल श्रेष्ठका सुपुत्री सुचिना श्रेष्ठ, अर्गनाइजेशनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, सदस्य अञ्जना ताम्राकार, पूर्व उपाध्यक्ष शाक्य सुरेन, दुर्गालाल साहित्य प्रतिष्ठानका अध्यक्ष महेनमोहन श्रेष्ठ, नेवाः अर्गनाइजेशन अफ अमेरिकाका प्रतिनिधि कविता श्रेष्ठ समेतका विशेष उपस्थिति रहेका थिए ।
यस कार्यक्रममा हलिं नेवाः साहित्य दबूका सदस्य भाषाविद् पौभाः साय्मिले स्वागत मन्तब्य राख्नुभएको र वर्ल्ड नेवाः अर्गनाइजेशन, नेपाल च्याप्टरका अध्यक्ष रमेश मुनिकारले धन्यवाद ज्ञापन गर्नुभएको थियो । अर्गनाइजेशनका यूथ एम्बेस्डर नीतु डंगोलले सञ्चालन गर्नुभएको यस कार्यक्रममा गायिका रीता महर्जनले पुर्खाहरुलाई सम्मान ब्यक्त गरिएको गीत गाउनुभएको थियो ।
