काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि ‘जीवित देवता’का रूपमा पुजिने नवदुर्गा–देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) सुरु भएको छ।
परापूर्वकालदेखि मनाइँदै आएको यो जात्रामा धुलिखेलको मुख्य बजारमा माछा मार्ने जात्रा सकिएलगत्तै नवदुर्गा देवगण श्रीखण्डपुर र चौकोट जाने कार्यक्रम हुन्छ।
धुलिखेलका स्थानीय नयाँ घर निर्माण गर्दा र नयाँ व्यापार व्यवसाय सुरू गर्दा नवदुर्गा देवगणलाई स्वागत गरी पूजापाठ गर्नाले घर शान्ति, सुख र व्यापारमा सफलता मिल्ने जनविश्वास छ।
नगरले नवदुर्गा जात्राको अवसरमा मङ्गलबार स्थानीय पर्वका रूपमा बिदासमेत दिएको छ। धुलिखेलका नागरिक नवदुर्गा देवगणलाई आफ्नो कुल देवताको रूपमा पुज्ने र यसलाई मुख्य पर्वको रूपमा लिने नगरप्रमुख अशोक ब्याञ्जूले बताए।
जात्रामा मानव समाजमा हुने पारिवारिक महत्त्व, नारी क्रोध, दाम्पत्य जीवन, बाल्यपनको चकचके स्वभाव, चेली दुखेसो, सरसफाइ शिक्षा, सामूहिक भावना तथा लक्ष्य, शाकाहारी÷मांसाहारी, नारी सुन्दरता, मायाप्रेम, सम्मान, असत्यमाथि सत्यको विजय, पञ्च रङको महत्त्व आदि विषयवस्तु प्रस्तुत गरिन्छ। यो जात्रा काभ्रेपलाञ्चोकको नाला, बनेपा, श्रीखण्डपुर, चौकोट, पनौतीलगायतका स्थानमा पनि मनाइन्छ।
सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक एवं प्रसिद्ध जात्राको रूपमा समेत नवदुर्गालाई लिइने गरिन्छ। हरेक वर्ष आठ महिना मकुन्डोसहित ङालाकेगु जात्रा र चार महिना मकुन्डोबिनाको पूजापाठ हुने गर्दछ। काठमाडौँको पशुपति, जय बागेश्वरी, मध्यपुर थिमी, टोखा, गोकर्ण, साँखु, साँगा र भक्तपुर नगरभित्र दर्जनौँ स्थानमा ङालाकेगु जात्रा हुने गरेको छ।
