सरकारले प्रतिबन्ध लगाउन सक्छ राजावादीको आन्दोलनमाथि – सञ्चारमन्त्री गुरुङ

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई रहेको बताएका छन्।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधानविरोधी काम भएको उनले उल्लेख गरे।

अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, स्थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताए।

आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभई उदारता भएको र कमजोरी नठान्न चेतावनी दिए। संविधान, जनता विरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने उनको भनाइ थियो।

‘यत्तिका धेरै मान्छेले रगत पसिना बगाएर, दुःख गरेर प्राप्त गरेको यो गणतन्त्रको रक्षा गर्नु हामी सबैको कर्तव्य हो। त्यो आन्दोलन गर्ने भन्ने कुरालाई आजका दिनसम्म प्रतिबन्ध लगाएका छैनौँ। प्रतिबन्ध पनि लगाउन सक्ने छुट संवैधानिक अधिकार, कानुनी अधिकार सरकारलाई छ,’ उनले भने।