काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सबुज बानियाँको चुनाव प्रचार–प्रसार मूल समिति गठन गरिएको छ। मंगलबार आयोजित भेटघाट, परिचयात्मक तथा बधाई–शुभकामना कार्यक्रममार्फत समिति घोषणा गरिएको हो।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ६ को आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२७ का सभापति तथा वडा अध्यक्ष योगेश कुमार खड्गीको सभापतित्व रहेको थियो। प्रमुख अतिथिका रूपमा क्षेत्र नं. ६ का उम्मेदवार तथा नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाँ उपस्थित थिए।
कार्यक्रममा बागमती प्रदेशकी सभासद् तथा पूर्व सामाजिक विकास मन्त्री हरिप्रभा श्रेष्ठ खड्गी, क्षेत्रीय सभापति श्याम कृष्ण खड्गी, प्रदेश “क” का सभापति तथा वडा नं. २६ का अध्यक्ष ख्याम प्रसाद तिवारी, प्रदेश “ख” का सभापति विष्णुभक्त तिमिल्सिना लगायत विभिन्न तहका पार्टी पदाधिकारी, २७ वडाका क्रियाशील सदस्य तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा आसनग्रहण, खादा प्रदान, राष्ट्रियगान तथा ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। सभापति योगेश कुमार खड्गीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।
त्यसैगरी क्षेत्रीय सभापति श्याम कृष्ण खड्गी र माननीय सभासद् हरिप्रभा श्रेष्ठ खड्गीले शुभकामना मन्तव्य व्यक्त गर्दै उम्मेदवार बानियाँको जित सुनिश्चित गर्न एकजुट भएर लाग्न आग्रह गरेका थिए।
प्रमुख अतिथि तथा उम्मेदवार सबुज कृष्ण बानियाँले कार्यकर्ताको साथ र विश्वासप्रति आभार व्यक्त गर्दै क्षेत्र नं. ६ को समग्र विकास, सुशासन र जनउत्तरदायी नेतृत्वका लागि आफू प्रतिबद्ध रहेको बताए।
कार्यक्रमको अन्त्यमा २७ वडा निर्वाचन प्रचार समिति गठनको घोषणा गरिएको आयोजकले जनाएको छ।
