काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारबाट सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान अहिले चर्चाको शिखरमा छ।
केही वर्षयता ‘नदी करिडोर’ र ‘सार्वजनिक जग्गा’ को नाममा हुँदै आएको अतिक्रमणलाई सरकारले बल्ल एक्सनमा उतारेको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले ‘बल प्रयोग नगरी’ बस्ती खाली गराइरहेको दाबी गरे पनि यसको भित्री पाटो निकै पेचिलो छ।
स्थानीयवासीको स्वेच्छापूर्ण सहयोग भनिए पनि दशकौंदेखि जरा गाडेर बसेकाहरूलाई एकाएक हटाउनुको पछाडि के ‘सक्कली’ र ‘नक्कली’ सुकुम्बासीको पहिचान नै मुख्य कारण हो त?अहिले सरकारले दशरथ रङ्गशाला र सुन्दरीजलसहित पाँच स्थानमा अस्थायी व्यवस्थापनको नाममा तिनलाई थन्क्याएको छ।
तर, प्रश्न यो उठ्छ कि ‘नक्कली’ भनिएकाहरूको विवरण सार्वजनिक गर्ने र उनीहरूमाथि हुने कारबाहीको सुनिश्चितता कहिले हुन्छ? के यो केवल तमासा मात्र हो वा साँच्चै सार्वजनिक जग्गा संरक्षणको इमानदार प्रयास? मनोहरा र गैरीगाउँसम्म फैलिएको यो अभियानले काठमाडौंको मुहार फेर्ने हो वा फेरि अर्को ‘सुकुम्बासी राजनीति’ जन्माउने हो, त्यो समयले नै बताउनेछ।
