वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा अहिले ललितपुरमा हर्षोल्लासका साथ चलिरहेको छ।
शनिबार सुन्धाराबाट तानेर चक्रबहिल पुर्याइएको रथलाई आज आइतबार लगनखेलतर्फ लैजाने कार्यक्रम छ।
जात्रामा सहभागी हुन ललितपुरका साथै आसपासका क्षेत्रबाट भक्तजनहरूको ओइरो लागेको छ।
लिच्छविकालीन राजा नरेन्द्रदेवको पालादेखि सुरु भएको यो जात्रा नेपालकै सबैभन्दा लामो र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ।
पौराणिक कथाअनुसार उपत्यकामा १२ वर्षसम्म परेको खडेरी अन्त्य गर्न र वर्षा गराउन मत्स्येन्द्रनाथलाई भारतको कामरूप कामाख्याबाट ल्याइएको इतिहास छ।
गोरखनाथका गुरु मानिने मत्स्येन्द्रनाथको आगमनसँगै नागहरू मुक्त भई उपत्यकामा वर्षा भएको किंवदन्ती रहिआएको छ।
