काठमाडौं । देशलाई प्राकृतिक विपतले थिचेर ब्याकुल बनाइरहेको बेला बझाङका एक तन्नेरी खेलाडीले सबै नेपालीहरु खुसी हुने एउटा बहाना दिएका छन् ।
तीन चरणसम्म चलेको कडा भिडन्तमा तीनमध्ये दुई निर्णायकले रवीन्द्रको पक्षमा निर्णय दिए । यही जितसँगै उनी ‘रोड टु यूएफसी’को फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन् । यो जितसँगै रवीन्द्रको व्यावसायिक खेल जीवनको जित संख्या ११ पुगेको छ । अब उनको व्यावसायिक अभिलेख ११ जित र १ हार कायम भएको छ ।
वीन्द्र अब रोड टु यूएफसीको फाइनल पुग्ने पहिलो नेपाली बनेका छन् । त्यसैले यो जित ऐतिहासिक हो । यसअघि कुनै नेपाली खेलाडी यो प्रतियोगिताको फाइनलसम्म पुगेको थिएन ।
अझ महत्वपूर्ण कुरा के हो भने, उनी यूएफसीको मुख्य प्रतियोगिताबाट अब केवल एउटा जित टाढा छन् । यही कारण आजको जितलाई नेपाली मिश्रित मार्सल कलाको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक मान्न सकिन्छ ।
यसअघि रवीन्द्रले सन् २०२५ मा भारतको नोयडामा भएको म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जितेर पनि इतिहास बनाएका थिए । भारतीय खेलाडी चुनरेङ कोरेनलाई हराउँदै उनी उक्त संस्थाको उपाधि जित्ने पहिलो नेपाली बनेका थिए ।
तर यूएफसीको बाटो त्यसको तुलनामा अझ ठूलो मञ्च हो । त्यसैले आजको जित रवीन्द्रको व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाली मिश्रित मार्सल कलाको अन्तर्राष्ट्रिय यात्रामा एउटा ठूलो फड्को हो ।
