हरेक वर्ष एक–एक लाख रुपैयाँ राशिका तीनवटा पुरस्कार प्रदान गरिँदै आएकोमा यस वर्ष पनि उक्त पुरस्कारका लागि सम्बन्धित व्यक्ति तथा संस्थाबाट दाबी र सिफारिससहित आवेदन आह्वान गरिएको छ। नेपाल संवत् ११४६ यंलाथ्व सप्तमी, असोज २ गते शुक्रबार नेवाः देय् दबूको ३२ औं जन्मदिको अवसरामा सो पुरस्कारको आवेदन आह्वान गरिएको हो। नारायणदेवी तीर्थ नेवाः समाजसेवा पुरस्कार, नारायणदेवी तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार र गिरिधरलाल नेपालभाषा सेवा पुरस्कारका लागि आगामी कार्तिक ३० गतेभित्र नेवाः देय् दबूको केन्द्रीय कार्यालयमा वा नेवाः देय् दबूको इमेलमार्फत आफ्नो दाबी तथा सिफारिस पठाउन सकिनेछ।
उक्त पुरस्कारका लागि दाबी तथा सिफारिस संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउन नारायणदेवी–तीर्थ–गिरिधर पुरस्कार निर्णय समिति गठन गरिएको छ। हरेक वर्ष नेवाः देय् दबूको स्थापना दिवसका अवसरमा प्रदान गरिँदै आएको यी पुरस्कार यस वर्षदेखि फरक ढाँचामा प्रदान गर्ने निर्णय गरिएको छ। सोहीअनुसार आगामी माघ २ गते शनिबार आयोजना हुने विशेष समारोहमा तीनवटै पुरस्कार प्रदान गरिनेछ।
तीन पुरस्कारको उद्देश्य नारायणदेवी–तीर्थ–गिरिधर पुरस्कार निर्णय समितिका सचिवले श्रीकृष्ण महर्जन ‘नेवाः’ले दिएको जानकारीअनुसार नारायणदेवी तीर्थ नेवाः समाजसेवा पुरस्कार नेवाः सामाजिक, सांस्कृतिक तथा अधिकारका क्षेत्रमा योगदान पुर्याउँदै आएका तथा सम्पदा संरक्षणलगायत सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका संस्था, समूह, गुथि तथा व्यक्तिलाई प्रदान गरिने छ ।
त्यसैगरी नारायणदेवी तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार नेवाः समुदायका परम्परागत तथा आधुनिक व्यवसाय सञ्चालन गर्दै आएका व्यावसायिक संस्था, कम्पनी, समूह, गुथि, उद्यमी तथा व्यक्तिलाई प्रदान गरिनेछ। यसैगरी गिरिधरलाल नेपालभाषा सेवा पुरस्कार नेपालभाषा, नेपालभाषा साहित्य तथा नेपाल लिपिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका संस्था, समूह, गुथि तथा व्यक्तिलाई प्रदान गरिनेछ। नारायणदेवी–तीर्थ–गिरिधर पुरस्कार निर्णय समिति पुनर्गठन यस वर्ष नारायणदेवी–तीर्थ–गिरिधर पुरस्कार निर्णय समितिसमेत पुनर्गठन गरिएको छ।
पुनर्गठित समितिमा अध्यक्ष डा. पुष्पराज राजकर्णीकार, उपाध्यक्ष रश्मिला प्रजापति (अध्यक्ष, नेवाः देय् दबू), सचिव श्रीकृष्ण महर्जन ‘नेवाः’ (महासचिव, नेवाः देय् दबू) सदस्यहरुमा डा. सुमित्रा मानन्धर गुरुङ, डा. लोचन मानन्धर, शाक्य सुरेन, महेन्द्रगोपाल कर्माचार्य, रमना श्रेष्ठ र विमलबहादुर शाक्य सदस्य रहेका छन्। त्य
सैगरी पुरस्कार व्यवस्थापन समितिमा अध्यक्ष शाक्य सुरेन, छ्याञ्जे श्रीकृष्ण महर्जन ‘नेवाः’ मूछ्याञ्जे, नेवाः देय् दबू, दुजलय् मिलन शाक्य, विमलप्रभा बज्राचार्य र कृतिका बज्राचार्य रहेकोे कुरा पनि निर्णायक समितिका सचिव श्रीकृष्ण महर्जन ‘नेवाः’ले जानकारी दिएका हुन्।
