आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरमा सोमबार आफैंले बसमा आगो लगाउँदा मृत्यु भएका चालकको वास्तविक परिचय खुलेको छ। सुरुमा काभ्रेका दावा लामा भनिए पनि उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ तामाङ भएको पुष्टि भएको हो।

इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोनका अनुसार सामान्य परिवारमा हुर्किएका अर्जुनले काठमाडौंमा अरूको बस चलाएर परिवार पाल्दै आएका थिए।

उनका श्रीमती र ५ वर्षका एक छोरा छन्। वडाध्यक्ष प्रताप भ्लोनलेका अनुसार नागरिकतासमेत नबनेको र परिवारजन जन्मदर्ताको प्रमाणपत्र बोकेर शव बुझ्न काठमाडौं आएका छन्।

सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा ट्राफिक प्रहरीसँग सामान्य विवाद भएपछि उनले यात्रुहरूलाई ओरालेर बसभित्रै आफैंलाई आगो लगाएका थिए।

प्रहरीले ढोका फुटाएर उद्धार गरी कीर्तिपुर अस्पताल (बर्न अस्पताल) पुर्‍याए पनि शरीरको ९० प्रतिशत भाग जलिसकेकाले सोमबार साँझ ७ बजे उनको निधन भयो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार अर्जुनले पटक-पटक अरूको नाममा जारी भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रयोग गर्ने गरेका थिए।

त्रिपुरेश्वरको घटनापछि प्रहरीले काभ्रेका दावा लामाको नाममा रहेको लाइसेन्स फेला पारेको थियो। अनुसन्धानका क्रममा उनी २०८२ कात्तिकमा बालाजुमा बस पल्टिएर तीन जना घाइते भएको घटनामा पनि संलग्न रही फरार रहेको र त्यसबेला सुनिल तामाङको लाइसेन्स प्रयोग गरेको खुलेको छ।

यस्तै, करिब तीन महिनाअघि मूलपानीमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गर्दासमेत उनले अर्कैको लाइसेन्स प्रयोग गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।