दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाण्डाै – यस वर्षकाे दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीकाे अग्रिम टिकट आउँदो शुक्रवार असोज २३ गतेदेखि खुला गर्ने निर्णय भएको छ ।

यातायात व्यवस्था विभागमा आज सरोकारवालाबीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

यस वर्षको दशैँमा झन्डै १० लाख जनाले काठमाण्डौ उपत्यका छाड्ने अनुमान छ ।

बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न निर्णय पनि गरेको महासङ्घका अध्यक्ष सिटौलाले बताउनुभयो ।

अब लामो दूरीका गाडीमा दुई जना चालक अनिवार्य राख्नुपर्नेछ । सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णय पनि भएको छ ।