काठमाडौं – नागढुंगा सुरुङमार्ग प्रवेशमा टोल शुल्क संकलन सुरु भएपछि सवारीसाधनको चाप बढेको छ। गत कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल महसुल उठाउन थालिएको हो।
टोल शुल्क नगद तथा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था भए पनि शुल्क संकलनका क्रममा समय लाग्दा सुरुङमार्गको प्रवेशद्वारमा सवारीसाधनको चाप बढेको हो।
विशेषगरी टोल शुल्क भुक्तानी र त्यसको प्रक्रिया पूरा गर्न लाग्ने समयका कारण सवारीसाधन लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ।
टोल शुल्क संकलन प्रक्रियालाई छिटो र सहज बनाउन सके सवारी चाप कम हुनुका साथै यात्रुले भोग्नुपरेको सास्तीसमेत घट्ने देखिन्छ।
