काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज समूहचरणका अन्तिम २ खेल हुँदैछन्।
आजको खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्स तथा चितवन राइनोजले कर्णाली याक्स विरुद्ध खेल्दैछ। प्रतियोगितामा ‘प्लेअफ’ समिकरण पुरा भइसकेकाले काठमान्डु र पोखराको खेलले भने ‘क्वालिफायर’ खेल्ने दोस्रो टोलीको तय हुनेछ।
लुम्बिनी विराटनगरलाई हराएर शीर्ष स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको छ। लिगमा ८ टोलीले राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा स्थान पाउन क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएकाले शीर्ष दुई महत्वपूर्ण मानिन्छ।
लुम्बिनीको ११ अंक हुँदा सुदूरपश्चिम रोयल्स १० अंकका साथ दोस्रो स्थानमा छ । तर आइतबार हुने खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई फराकिलो अन्तरले पराजित गरेमा समान १० अंक बोकेको सुदूरपश्चिमलाई नेटरनरेटमा पछाडि पार्ने सम्भावना काठमान्डुसँग रहने छ।
यद्यपी इलिमिनेटर खेल्ने टोलीमा चितवन राइनोज पक्का हुँदा अब काठमान्डु र सुदुरपश्चिम मध्ये एक टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। इलिमिनेटरमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिंदा जित्ने टोलीले क्वालिफायर वानमा हार्ने टोलीसँग फाइनल प्रवेशको खेल खेल्नेछ।
