काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै छठ पर्वले परिवारमा सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्ने परम्परा बोकेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्नुपर्ने गहिरो सन्देश दिने बताउनुभएको छ । उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनको महत्वपूर्ण दर्शन सिकाउने उहाँको भनाइ छ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक परम्परा रहेको प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।
