ललितपुर – ललितपुरको प्रसिद्ध जात्रामध्येको एक नरिवल खसाल्ने जात्रा आज आइतबार मनाइँदैछ । रातो मत्स्येन्द्रनाथको रथजात्राअन्तर्गत नरिवल खसाल्ने जात्रा लगनखेलको थतिटोलमा विराजमान मत्स्येन्द्रनाथको रथबाट नरिवल खसालेर मनाइने गरिन्छ । वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथलाई लगनखेलको थतिहोलमा हिजो पु-याएपछि आजका लागि नरिवल खसाल्ने जात्रा मनाउने तय भएको थियो ।
मत्स्येन्द्रनाथको रथ र मिननाथ रथबाट एक/एक वटा नरिवल खसालिने परम्परा छ । मत्स्येन्द्रनाथको टुप्पोमा बसेर देशमा सुख शान्ति छाओस् भन्ने कामना गर्दै चारै दिशामा योमरी खसालेपछि अन्तिममा नरिवल खसालिन्छ । परापूर्वकालमा कर्कोटक नामका नागराजसमेत रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसालेको जात्रा हेर्न गएको किंवदन्ती छ ।
रथको टुप्पोमा गएर यवाँल थकाली पाक आजुले अपराह्न नरिवल खसाल्ने परम्परा छ । ३२ हात लामो रथको टुप्पोबाट खसाल्ने नरिवल समात्न सयौं मानिस त्यहाँ जम्मा हुने गर्छन् । एकअर्कामा ठेलमठेल गर्दै उभिएकाबीचमा नरिवल फ्याँकिन्छ । नरिवल खसाल्दा नरिवल पाउनेलाई राम्रो हुने तथा सुख शान्ति मिल्ने जनविश्वास छ । यसैगरी, नरिवल प्राप्त गर्नेलाई पुत्रलाभ हुने जनविश्वास भएकाले नरिवल भेट्टाउन तँछाडमछाड हुने गरेको बुढापाकाको भनाइ छ ।
नरिवल जात्रा चलिरहँदा बुधबार लगनखेलका तथा वरपरकाका बासिन्दाले छ्वयेलाभू भोज खाएर मनाएकाछन् । आफ्ना आफन्तलाई मिठामिठा परिकार खुवाएर उनीहरूले जात्रा मनाएका हुन् । मत्स्येन्द्रनाथको जात्राका क्रममा विभिन्न स्थानमा रथ परिक्रमा गरिरहँदा जुन स्थानमा रथ पुग्छ, त्यहाँका बासिन्दाले आफन्त र नातागोता र साथीभाइलाई बोलाएर मिठो मसिनो खाएर मनाउने परम्परा छ । थति टोलमा नरिवल खसाल्ने जात्रा मनाएकै दिन बाराही समुदायको देवाली तोक्ने चलन छ ।
थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि भोली सोमबार बिहान ६ बजेअघि नै महिलाले रथ तानेर याकः मिसाया भुज्या भनेर थतिचोक पु-याउँदै छन् ।
यसअघि रातो मत्स्येन्द्रनाथको पूजा गर्ने क्रममा शुक्रबार रातभर पुजारीले महाबलीको पूजा गरेका थिए ।
