काठमाडौंको कोर एरियामा ‘मल्टीस्टोरी पार्किङ’, महानगरले माग्यो नेवानीको भवन

काठमाडौं । काठमाडौं महानगरपालिकाले मल्टोस्टोरी पार्किङका लागि नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको छ ।

महानगर प्रहरी बलको ३४ औँ स्थापना दिवसका अवसरमा कार्यवाहक मेयर सुनिता डंगोलले काठमाडौंको कोर एरियाको पार्किङ समस्या समाधान गर्न मल्टीस्टोरी पार्किङको व्यवस्था गर्न लागिएको जानकारी दिइन् ।

डंगोलले भनिन्- हामीले संघीय सरकारसँग विशेष अनुरोध गरेका छौँ कि न्युरोडमा रहेको एनएसी बिल्डिङलाई मल्टीस्टोरी पार्किङ बनाउन महानगरलाई इजजात दिन आग्रह गरेका छौँ । यो भएपछि कोर एरियामा रहेको पार्किङ समस्या समाधान हुनेछ । हामी विश्वास गर्छौँ, त्यो कार्य अघि बढाउन तत्पर छौँ ।

कार्यवाहक मेयर डंगोलले काठमाडौंभरीका पार्किङ समस्या समाधान र व्यवस्थापनमा अध्ययन भइरहेको बताइन् । विज्ञहरूको टोलीले दिएको सुझावका आधारमा समाधानको बाटोमा जाने उनको भनाइ छ ।