ललितपुर – ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान हुँदैछ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिन्छ ।
आज बेलुकी ४ बजे पछि मच्छिन्द्रनाथलाई लगंनखेलमा रहेको डबलीमा महास्नान गरिनेछ । महास्नानको लागि विशेष पूजा गरेर हिजो मूर्तिबाट जीवन्यास निकालेर कलशमा राखेको पुजारी विनोद बज्राचार्यले बताउनु भयो । बज्राचार्यका अनुसार महास्नान पछि ७ दिन मूर्तिलाई गुप्तबासमा राखेर आउँदो अष्टमीका दिन मर्मत संभार गरेर रंगरोगन गरिनेछ ।
यसपाली रातो मच्छिन्द्रनाथलाई २०८० बैशाख ८ गते रथारोहण गरेर ११ गतेबाट रथयात्रा शुरु हुनेछ ।
रातो मच्छिन्द्रनाथको महास्नानसँगै आज बेलुकी रथ बनाउनको लागि साइत पूजा हुँदैछ । महास्नान गरेपछि बेलुकी साइत पुजा गरिने बाराही नाइके दिल कुमार बाराहीले बनाउनु भयो । आज साइत पुजा गरेर भोलीबट पुल्चोकमा रथ बनाउन शुरु हुने बाराहीले बताउनु भयो ।
