त्यो १२ सेकेन्ड
डा. सुशील ताम्राकार
कोरोना कालको लकडाउनले मान्छेमा त्रास र कष्टकर जीवन दिए पनि एउटा महत्वपूर्ण उपहार पनि दिएको मान्नु नै पर्दछ। त्यो हो दशकौं गुमनाम भएका साथीहरु सम्पर्कमा भर्च्युल भए पनि आउनु । स्कुलको बिदाइ भोज खाएको झन्डै ४ दशक पछि फेसबुक र जूम मार्फत पुन: स्कुल जीवन फर्काउन पायौं, लकडाउनको कारणले मित्र भुवनको सक्रियताले । सम्भवत लकडाउन नभएको भए हामी आ-आफ्नो पारिवारिक र सामाजिक जन्जाल-मायाजालमा अल्झिरहेका हुने थियौं । कैदी भन्दा नै कठोर यातना कालमा यी अनलाइन जिनिसहरु बरदान साबित भए । यसै क्रममा हामी २०३९ सालमा एसएलसी दिएका, बिश्व निकेतन स्कुलका, कक्षा १० ख का ५३ बिद्यार्थीहरु मध्ये धेरैलाई इन्टरनेटको मायावी संजालमा जोड्न सक्यौं । यो सिलसिला अटुट रुपमा जारि छ र रहिरहने छ ।
हामी मध्ये कतिपय बिदेशिएका छौं । भूगोललाई नाप्दै कोही कता, कोही कता छौं । कसैका छोरा छोरीहरु परदेशी भएका छन् त कोही स्वयं लाहुरे बनेका छन् । ती मध्ये एक मित्र जितेन्द्र, आफ्नो सुपुत्रको दीक्षान्त समारोहमा साक्षी बन्न अमेरिका आइपुग्नु भयो । कठोर परिश्रम पछि प्राप्त एमडीको त्यो डिग्रीले हामीसबैको नाक दुइ इन्चीले बढेकै थियो । अमेरिका बसाइको छोटो अबधिमा हामी आत्मीय रुपमा अत्यन्त नजीक, भौगोलिक रुपमा अलि टाढा भए पनि भेट्ने निर्णय गर्यौं । जितेन सर (करीब ११५ किमि मात्र टाढाबाट) मेरोमा आएर बस्ने अनि यहाँबाट हवाई सफर गर्दै नर्थ क्यारिलोनामा बसोबास गर्ने अर्को नक्षत्र भीमसेनकोमा जाने । हाम्रो शुद्ध स्कुले भेटघाट मात्र थियो, ३ मित्र, ३ दिन भित्र, ३ दशकको मिलन बिछोडको सचित्र विवरण प्रस्तुत गर्ने उद्देश्य सहित। परिवारका सदस्य बिनाको त्यो शुद्ध हाइस्कुले एस्कर्सन जस्तो।

-याले डुरहम हवाई अड्डामा मित्र भीमसेनको गर्मजोशी स्वागत, ९० डिग्री फरेनहाइट ( लगभग ३० डिग्री सेल्सियस ) भन्दा न्यानो रह्यो । यस्तरी अंगालियौं कि ४ दशक अघि प्रयाग राजको महाकुम्भ मेलामा छुट्टिएकाहरु पहिलो पल्ट साक्षात्कार हुँदैछ । साथीहरुको सम्मानमा आफ्नो आँगनमा चन्द्र सूर्य झण्डा फ़र्फ़राइरहेको थियो ।
केही बेरको आराम पछि दिनको खाना खाइवरि डाउनटाउन र युनिभर्सिटीहरुको दर्शन गर्न गयौं । साँझसंगै सुस्त सुस्त राष्ट्रिय खानाको सुगन्ध फैलिसकेको थियो । केही स्थानिय इष्ट मित्रहरु बीच मीठो म:म: र चीसो बियरको संगम चल्यो । गफागफमा रात छिप्पेको नि पत्तो भएन । एक रात न सुत्दैमा रात सुक्दैन । हामी तीन, शारीरिक रुपमा नढलेसम्मन गफिंदै गयौं । ४ दशकको इतिवृतान्त ४ घण्टामा समेट्न पनि सकिंदैन नि ! भोलि बिहानै हामी एउटा तीर्थको यात्रामा निस्कनु थियो । केही घण्टा सुतेजस्तो गरियो ।
बिहानै च्या-पाउरोटी चपाउँदै यात्रामा निस्क्यौं । हाम्रो मुकामबाट झन्डै २५० माइल्स अर्थात ४०० किलोमिटरको यात्रा तय गर्नु थियो । ४ घन्टाको अनुमानित गुडाइ थियो । त्यो चार घण्टा, ४ दशकको बाँकी दास्तानहरु सुनाउँदै निमेषमै पुगे जस्तो भयो । अझै हाम्रा प्रेम-कहानीहरु अधुरै थिए, हाम्रा सपना बिपनाका कुराहरु अपुरै भए । दिनको १२ बजिसकेकोले लन्च गर्ने कि भन्ने खन्चुवा प्रस्ताव नआएको पनि हैन तर हामीले पहिले जुन तीर्थाटन गरौं , त्यसपछि ढ्याउ गर्दै खाऔं भन्ने कुरामा सहमत भयौं ।

त्यो तीर्थ थियो- पहिलो हवाइ जहाज बनाउने राइट ब्रदर्शले पहिलो पल्ट आफ्नो कल्पनाको उडान गरेको ठाउँ – राइट ब्रदर्श नेशनल मेमोरियल । हामी सानो हुँदा हाजिर जवाफ प्रतियोगिताको लागि तयारी गर्दा पढेको नाम थियो राइट ब्रदर्श अर्थात ओर्भिल राइट र विल्बर राइट । एउटा सामन्य साइकल पसल मालिकका सन्तान यी दाजुभाइले सपना जो देखेका थिए त्यो राइट नै थियो, गलत थिएन । मान्छे कल्पनामा मात्र हैन बिपनामा पनि उड्न सक्छ । रामायणमा मात्र पुष्पक विमान पढ्ने हैन उतारायणमा पनि विमान चढ्ने हुन्छ एक दिन । साइकल वर्कशप मै ती दाजुभाइले गहन अध्ययन पश्चात एउटा पुष्पक तयार पारे र सन् १९०३ डिसेम्बर १७ को दिन नर्थ क्यारोलिनाको आउटर ब्याङ्क समुन्द्री किनार अवस्थित उक्त उडान स्थलबाट पहिलो युगान्तकारी उडान भरे । त्यो ऐतिहासिक उडान मात्र १२ सेकेन्डको थियो, १२० फीट मात्र उड्यो तर उडानको उचाइ र दूरी अनन्त थियो । ओर्भिल राइटले चलाएको त्यो विमान र त्यो क्षणले बिश्व मानचित्रको यो खाका तय भएको थियो । त्यो १२ सेकेन्ड १२ युगको लागि थियो । त्यसपछि त्यै दिन ती दाजुभाइले पालै पालो अर्को ३ उडान भरे । चौथो उडानले ५९ सेकेन्ड को समय तय गर्यो भने ८५२ फीट छ्लाङ्ग लगायो । त्यस दिनदेखि सपनामा उडान भर्नेहरुमा बिश्वास जाग्यो एकदिन हामी पनि आकाशमा बादल संगसंगै उड्न सक्छौं । बिश्वको एउटा कुनाबाट अर्को कुना सजिलै पुग्न सक्छौं । तिनै राइट दाजुभाइको त्यो तीर्थमा पुगेर हामी पनि भावुक भयौं । महाकबि देबकोटाको पंक्ति सम्झ्यौं, उद्देश्य के लिनू, उडी छुनू चन्द्र एक । साँचै देबकोटाले देखेको सपना राइट ब्रदर्शले पहिलो उडान भरेको ६० बर्ष पछि १९६३ मा मान्छे चन्द्रमा पनि पुगे । हामीले पनि सपना देखेका थियौं, कतिपय बिपाना भए, कति कल्पना मै बिराए, कति सम्झनामा पनि हराए ।
अस्तु!!

