जनकपुरधाम – सप्तरीमा इँटा लोड भएको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक युवक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
शनिबार दिउँसो करिब साढे २ बजे राजगढ गाउँपालिका–५ मलेखपुरस्थित हुलाकी सडकखण्डमा पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको इँटा लोड भएको स १ त ५४४२ नम्बरको ट्र्याक्टरमा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार तीनै जनालाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पठाइएको थियो। त्यस क्रममा अन्दाजी २७ वर्षीय युवकको बाटोमै मृत्यु भएको थियो भने अन्दाजी २३ वर्षीय युवकलाई उपचारको क्रममा सवा ३ बजे चिकित्सकले मृत घोषित गरेको प्रवक्ता बस्नेतले बताए।
यस्तै, गम्भीर घाइते रहेका अन्दाजी २२ वर्षीय युवकको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्र्याक्टर चालक भने फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
