सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गर्दछ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार हरेक वर्ष विश्वमा अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० भन्दा बढी रोग लाग्ने गरेको छ । प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिसको खाद्य जनित रोगबाट मृत्यु हुने गरेको छ । झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ ।
विश्वमा खाद्य स्वच्छता दिवस मनाउनु अघिदेखि नै नेपालमा यससम्बन्धी कार्यक्रम आयोजना गर्न थालिएको थियो । विसं २०६५ देखि विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन शुरु गरेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले राससलाई जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठनको अध्ययन अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको औँल्याएको छ । संविधानसभाबाट जारी भएको संविधानले हरेक नेपालीका लागि खाद्यसम्बन्धी हकको सुनिश्चितता गरेको छ ।
