काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल लिग चरणमा शीर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स दिउँसो ४ बजेदेखि प्रतिस्पर्धा गर्दैछन् ।
लिग चरणका खेलमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको छ भने एक खेल विराटनगरसँग हारेको छ । त्यस्तै विराटनगरले ७ खेलमा ५ खेलमा जित हासिल गरेको छ र दुई खेलमा हार बेहोरेको छ । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो ।
यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो ।
