पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षिय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ ।
साथै सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको हारको बदला समेत लिएको छ । दुई बलिया टिमबीच क्वालिफायरमा कडा प्रतिस्पर्धा हुने अपेक्षा भएपनि सुदूरपश्चिमले एकपक्षिय रुपमा खेलमा हावी बनेको थियो ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो । सुदूरपश्चिमका बलरले पहिलो ओभरदेखि नै विकेट लिन थालेपछि विराटनगरको इनिङ्स धर्मराएको थियो । स्कट कुगेलेइनले पहिलो बलमै साम हिजलेटलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट आउट गराए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो । विराटनगर विरुद्ध अर्धशतकपछि उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले ८ खेलबाट २६४ रन बनाएका छन् । पोखरा एभेन्जर्सबाट खेलेका इंग्लिस विकेटकिपर एडम रोसिङटनले लिगमा ७ खेलबाट एक शतकसहित सर्वाधिक ३२३ रन बनाएका छन् ।
