झापाको भद्रपुरमा शौचालयमा लडेर एक व्यक्तिको मृत्यु

झापा- झापाको भद्रपुरमा शौचालयमा लडेर एक व्यक्तिको मृत्यु भएको छ।

हिजो दिउँसो १ बजेतिर भद्रपुर वडा नम्बर ४, लुरुङ चोकमा स्थानीय ४२ वर्षीय देबेन्द्र देवान आफ्नै घरको शौचालयभित्र पस्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। उनी छारे रोगका बिरामी रहेको बुझिएको छ।

प्रहरीले घटनाबारे थप बुझ्ने कार्य गरिरहेको जनाएको छ। सम्पूर्ण कानूनी प्रक्रियाहरू पूरा गरी मृतकको शवलाई पोस्टमार्टमका लागि शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ।