सुनको मूल्यमा ‘भारी’ वृद्धि,चाँदी पनि महँगियो

नेपाली बजारमा सुनको मूल्यमा पुनः ठूलो वृद्धि देखिएको छ। पछिल्ला केही दिनदेखि उतारचढाव भइरहेको सुनको भाउ आइतबार प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेर ४ हजार ९९० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिद-बिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि डलरको तुलनामा बहुमूल्य धातुको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ५२४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

चाडपर्व र लगनको समय नभए पनि अन्तर्राष्ट्रिय बजारको बढ्दो क्रमले नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुन थालेको छ।