आजबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक प्रचार–प्रसार खुला भएको छ। मतदानको मितिभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ। यही फागुन १८ गते राति १२ बजेसम्म दल र उम्मेदवारहरू मतदातासमक्ष आफ्ना एजेन्डा राख्न सक्नेछन्। तर, प्रचारको ढोका खुलेसँगै लोकतन्त्रको परीक्षा पनि सुरु भएको छ।
निर्वाचन केवल प्रतिस्पर्धा होइन, विश्वासको अभ्यास हो। विश्वास निर्माणको आधार भनेको आचारसंहिता हो। निर्वाचन आयोग ले आचारसंहिता कार्यान्वयनका लागि विभिन्न संयन्त्र परिचालन गरेको छ र उल्लङ्घनमा शून्य सहनशीलता अपनाइने स्पष्ट सन्देश दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले समेत उल्लङ्घन भएमा स्पष्टीकरणदेखि दण्डजरिवाना र उम्मेदवारी खारेजीसम्मको कानुनी व्यवस्था रहेको बताउनुभएको छ। कानुन कडाइका लागि मात्र होइन, निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्नका लागि हो।
तर हरेक निर्वाचनमा देखिने समस्या फेरि दोहोरिने हो कि भन्ने चिन्ता कायमै छ—अत्यधिक खर्च, भीड–भाडको शक्ति प्रदर्शन, र सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या सूचना। आयोगले स्पष्ट शब्दमा दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति र संगठित रूपमा फैलाइने भ्रामक सामग्री निषेध गरेको छ। लोकतन्त्रमा असहमति स्वाभाविक हो, तर असत्य स्वीकार्य हुन सक्दैन। मतदाताको निर्णय तथ्यमा आधारित हुनुपर्छ, भ्रममा होइन।
प्रचार–प्रसारका क्रममा उम्मेदवारले खर्च विवरण पारदर्शी रूपमा पेस गर्नुपर्ने व्यवस्था सकारात्मक कदम हो। चुनाव पैसाको खेल बन्न नदिन पारदर्शिता अनिवार्य सर्त हो। तर, कागजमा लेखिएको प्रतिबद्धता मात्र पर्याप्त हुँदैन; व्यवहारमा देखिएको अनुशासन नै निर्णायक हुन्छ। दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने सार्वजनिक प्रतिबद्धता जनाइसकेका छन्—अब त्यसको परीक्षा मैदानमा हुनेछ।
निर्वाचनको शुद्धता जोगाउने जिम्मेवारी आयोगको मात्र होइन। दल, उम्मेदवार, सञ्चारमाध्यम, नागरिक समाज र स्वयं मतदाता—सबै सरोकारवालाको साझा दायित्व हो। सभ्य प्रतिस्पर्धा, संयमित अभिव्यक्ति र नीतिगत बहसले मात्र लोकतन्त्र बलियो हुन्छ।
प्रचार सुरु भएको छ; अब हेर्न बाँकी छ—यो प्रतिस्पर्धा नीतिको हुनेछ कि नाराको? यदि आचारसंहिता कडाइका साथ पालना भयो भने यो निर्वाचन लोकतान्त्रिक परिपक्वताको उदाहरण बन्न सक्छ। नत्र, फेरि एकपटक हामीले अवसर गुमाएको इतिहास दोहोर्याउनेछौं ।
