यट्खा बाहल सम्पदा क्षेत्रमा अग्नि नियन्त्रण पाइप उद्घाटन

काठमाडौं । विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका–१९ अन्तर्गतका १९ वटा यट्खा बाहल सम्पदा क्षेत्रमा जडान गरिएको अग्नि नियन्त्रण पाइपको आज एक कार्यक्रमबीच विधिवत् उद्घाटन गरिएको छ।

यट्खा बाहल भित्र रहेको घना बस्ती र साँघुरा गल्लीका कारण दमकल सहजै पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै ती क्षेत्रमा पाइप प्रणाली जडान गरिएको हो। आगलागीका घटना न्यूनीकरण गरी सम्भावित क्षति कम गर्ने उद्देश्यका साथ उक्त पूर्वाधार निर्माण गरिएको अध्यक्ष राजेश कुमार श्रेष्ठले न्युज नेपा डट कमलाई जानकारी दिए।

उद्घाटन कार्यक्रममा वडा नं. १९ का अध्यक्ष राजेश कुमार श्रेष्ठसहित वडा सदस्यहरूको सहभागिता रहेको थियो। साथै, भास्कर महाकृति बिहारका ज्येष्ठ नागरिक नील रत्न टाम्राकारले समेत कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन गर्दै समुदायस्तरमा सुरक्षा सचेतना र पूर्वतयारीको आवश्यकता औंल्याए।

स्थानीय बासिन्दाले घना बस्ती रहेको बाल क्षेत्रमा यस्तो संरचना जडान भएपछि आपतकालीन अवस्थामा प्रारम्भिक रूपमा आगो नियन्त्रण गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्। सम्बन्धित पक्षले भविष्यमा पनि यस्ता जोखिमयुक्त क्षेत्रमा आवश्यक पूर्वाधार विस्तार गर्दै जाने जनाएको छ।

उक्त अग्नि नियन्त्रण पाइप जडान भएपछि आगलागी भएको अवस्थामा तत्काल पानी उपलब्ध हुने र दमकल आउनुअघि प्रारम्भिक नियन्त्रण गर्न सहज हुने दिखिएको छ।