आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा नेवार समुदायका माग बारे अपील जारी गरिएको छ। नेवार न्ह्यलुवा पुचःको आयोजनामा बिहीबार काठमाडौंको इतुंबहालमा आयोजित भेलामा विभिन्न संघ–संस्थाहरूका साथै नेवार अगुवाहरुका उपस्थितिमा उक्त अपील सार्वजनिक गरिएको हो । नेवा: अगुवा मल्ल के सुन्दरले आगामी आमनिर्वाचनमा नेवा:हरुका माग के–के हुन् र नेवा:ले कस्ता उम्मेदवार जिताउनु पर्दछ भन्ने विषय सबैका अगाडि राखी यस चुनावमा हाम्रा अपीललाई हृदयंगम गर्ने उम्मेदवारहरुलाई जिताउनु पर्ने बिचार राख्नुभएका छन् ।
साथै, नेवार भूमिमा नेवार समुदायका उम्मेदवारलाई दलहरूले अवसर दिनुपर्ने, तर यस बिषयमा दलहरुले अझ पनि राम्ररी बिचार नगरिएको प्रति ध्यानाकर्षण गरिएको छ । भाषा आयोगका सदस्य सुरेश मानन्धरले नेवार न्ह्यलुवा पुचःका तर्फबाट तयार गरिएको २० बुँदे अपील वाचन गरेका थिए।
उक्त २० बुँदे अपीलमा नेवारसहित देशका सबै उत्पीडित समुदायका माग सम्बोधन गर्नुपर्ने, राज्य पुनर्संरचना गरी कार्यान्वयनमा आएका संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षता गणतन्त्रको संवैधानिक व्यवस्थालाई सुदृढ गर्नुपर्ने, सडक विस्तार तथा खोला मापदण्डका नाममा नेवार भूमिको अतिक्रमण रोक्नुपर्ने, विकासका नाममा सञ्चालन हुने कुनै पनि आयोजनामा स्थानीय समुदायको पूर्वस्वीकृति लिनुपर्ने, मातृभाषा शिक्षा नीति लागू गर्नुपर्ने, जात्रा–पर्व सञ्चालनका लागि राज्यबाट नियमित बजेट व्यवस्था गर्नुपर्ने तथा नेवार गुठीहरूलाई स्वायत्त रूपमा सञ्चालन गर्न राज्य नीति संशोधन गर्नुपर्ने लगायतका माग समेटिएका छन्।
सुरेश मानन्धरले नेवार न्ह्यलुवाः पुचःका तर्फबाट प्रस्तुत गर्नुभएको १० बुँदे अपीललाई नेवार न्ह्यलुवाः पुचःका सहयोगी सुजीव बज्राचार्यले अनुमोदनका निमित्त प्रस्तुत गर्नुभएको उक्त अपील भेलामा उपस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा नेवार अगुवाहरुबाट सर्वसम्मतिले अनुमोदन गरिएको छ।
भेलामा बौद्ध विद्वान तथा नेवार अगुवा प्रा. डा. नरेशमान बज्राचार्यले कार्यक्रममा सहभागी हुनुभएका सबैलाई धन्यवाद ज्ञापन गर्नुहुँदै देशका निमित्त जीवनभर आफूलाई समर्पित गर्नुभएका गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र पद्मरत्न तुलाधर जस्ता नेवार राजनैतिक ब्यक्तित्वहरुलाई लिएर समाजमा चर्चा परिचर्चा गर्नुपर्ने आवस्यक भएको बिचार राख्नुभएको छ ।
